गढीमाई मेला

विश्वप्रसिद्ध गढीमाई मेला सफल पार्न बाराका सबै स्थानीय तह एकजुट भएका छन्। बरियारपुरमा जारी एक महीने मेलालाई सफल बनाउन जिल्लाको १६ वटै स्थानीय तह जुटेका छन्।

लाखौं भक्तालुको उपस्थिति रहने मेलालाई व्यवस्थित बनाउन आवश्यकता अनुसारको पूर्वाधार तयार गर्न स्थानीय तहको छुट्टाछुट्टै योजना बनेको छ। मेलामा आउने भक्तजनलाई आवतजावत गर्न सहजताका लागि बाटो निर्माण तथा मर्मत, भक्तजन सुत्ने र आराम गर्ने पण्डाल, पिउने पानी, शौचालय, निश्शुल्क स्वास्थ्य शिविरलगायत विभिन्न काम गर्ने घोषणा स्थानीय तहले गरिसकेका छन्।

जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिका गरी १६ स्थानीय तह छन्। गढीमाई मन्दिर महागढीमाई नगरपालिका–१ मा पर्दछ। मेला व्यवस्थापनका लागि महागढीमाई नगरपालिकाले मात्रै एक करोड रकम खर्च गर्ने योजना बनाएको छ। महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले मेला व्यवस्थापनका लागि एक करोड रकम विनियोजन गरे पनि अपुग देखिएको बताए।

“देशविदेशबाट ६० लाखभन्दा बढी भक्तजन आउँछन्, टाढाबाट आउनेहरूका लागि बस्ने र आराम गर्ने व्यवस्था गर्नुपर्दछ,” यादवले भने, “त्यसबाहेक बाटो, पानी, शौचालय, विद्युतीकरण, सुरक्षालगायत विभिन्न पूर्वाधारको तयारी गर्नु चुनौतीपूर्ण छ। तर हामी सबै गरिरहेका छौं।”

शीतलहरको समयमा खुला चौरमा मेला लाग्ने हुँदा भक्तजन बस्ने पण्डालको बढी आवश्यकता पर्ने यादवको भनाइ छ । महागढीमाई नगरपालिकाले पण्डाललाई प्राथमिकता दिएको भन्दै यादवले एउटा पण्डालमा २५ हजारसम्म भक्तजन आराम गर्न सक्ने जानकारी दिए। त्यसबाहेक मेला क्षेत्रमा पाँच सयभन्दा बढी अस्थायी शौचालय निर्माण भइरहेको छ।

सुरक्षाका लागि मेला क्षेत्रमा ८० वटा सिसी क्यामरा जडान भइरहेको यादवले बताए। उनले शुद्ध पानीका लागि मेला क्षेत्रमा करीब एक हजार चापाकल गाड्ने काम भइरहेको र केही चापाकल स्थायीरूपमैं निर्माण गरिने जानकारी दिए । मेलालाई सफल बनाउन जिल्लाका अन्य १५ स्थानीय तहले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आपूmलाई खुशी लागेको यादवले बताए।

यादवका अनुसार अन्य स्थानीय तहले भक्तजनलाई लक्षित गरी पूर्वाधार तयार गर्न इच्छा देखाएका छन्। आपूmले पनि भक्तजनको सहजताका लागि सहयोगको अपेक्षा राखेको यादवको भनाइ छ। “प्रत्येक स्थानीय तहले बढीमा ६ लाखसम्मको पूर्वाधार सहयोग गर्ने भएका छन्। जुन हाम्रोलागि ठूलै सहयोग हो,” यादवले भने, “यो मेला महागढीमाईवासीको मात्रै होइन। जिल्ला, प्रदेश अनि समग्र देशकै हो। सम्भव भएसम्म मेला सफल बनाउन सबैले आआप्mनोतर्पmबाट भूमिका खेल्नुहुन्छ भन्नेमा आशावादी छु।”

जिल्लाको पर्यटकीय विकासका लागि गढीमाई मेला मुख्य आधार रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले मेला सफल पार्ने दायित्व सबैको रहेको बताए। उनले मेला सफल बनाउन आवश्यक पूर्वाधारका लागि कार्यपालिकामा छलफल गरी सहयोग गर्ने जानकारी दिए। कोल्हवी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले मेला सफल बनाउन विभिन्न योजना बनाएको बताए। गढीमाई मन्दिर प्रवेश गर्ने सडक मर्मत गरिरहेको भन्दै भण्डारीले एउटा पण्डाल र ५० थान चापाकल आप्mनो नगरले सहयोग गर्ने जानकारी दिए। मेला अवधिभरका लागि नगरमा रहेको वारुणयन्त्र मेला क्षेत्रमा राखिनेसमेत भण्डारीले बताए।

जिल्ला समन्वय समितिको नेतृत्वमा प्रत्येक महीना बस्ने पालिकाको बैठकमा समेत गढीमाई मेलाको विषयमा छलफल हँुदै आएको थियो। मेला नजीकिंदै गएपछि सहयोगको घोषणा गर्न थालेका सबै पालिकाले अहिले पूर्वाधार तयारी गर्न थालेका छन्। निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालले मेला क्षेत्रमा शिशु तथा बालबालिकाका लागि स्तनपान गराउने सुरक्षित क्षेत्र निर्माण गराउने योजना आप्mनो रहेको बताए। अन्तर्राष्ट्रियस्तरमैं प्रसिद्ध मेला सफल बनाउन सबैले भूमिका खेल्नुपर्ने भन्दै नगरप्रमुख खनालले प्रवेशद्वार र अन्य पूर्वाधारमा सहयोग गर्ने बताए।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश यादवले मेलाका लागि १५ लाख रुपैयाँ खर्च गर्ने योजना बनाएको बताए। उनले मेलालाई लक्षित गरी खोलामा वैकल्पिक मार्ग निर्माण गर्ने, २४ घण्टा स्वास्थ्य शिविर चलाउने, पण्डाल तयार गर्नका लागि बजेट छुट्याएको यादवको भनाइ छ।

हाम्रो आधिकारिक फेसबुक पेज: गढीमाई नेपाल