गढीमाई मेला घुम्न आउने सबैभन्दा बृद्ध महिला, अन्नपूर्ण ढुंगाना।

गढीमाई मेला; भगवानलाई महसुस गर्न यहाँ आउनुहोस।

(बरियारपुर, बारा )-अन्नपूर्ण ढुंगाना चितवन भरतपुर महानगरपालिका शंकरचोककी एक ९४ वर्षीय बृद्ध हुन् । उनले आफ्नो घरमा बाराको गढीमाई मेला मा देवीको दर्शन गर्न मन लागेको कुरा गरिन । उनले सोमबार भगवती माता गढी को दर्शन गरिन् । लौरो टेकेर मन्दिर परिसरमा पुगेकी वृद्धालाई देखेर अन्य श्रद्धालु पनि दंग परे । 

गढीमाई मेला घुम्न आउने सबैभन्दा बृद्ध महिला, अन्नपूर्ण ढुंगाना।
अन्नपूर्ण ढुंगाना , एक ९४ वर्षीय बृद्ध । गढीमाई मेला घुम्न आउने सबैभन्दा बृद्ध महिला /p.c: Pawan

बाराको महागढिमाई मन्दिरमा दर्शन गर्न आइपुगेकी चितवन भरतपुरकी अन्नपूर्ण ढुंगाना । पाँच वर्षमा लागेको मेलामा यसपालि उनी लौरोको सहारामा गढिमाईको दर्शन गर्न आइपुगेकी हुन् । गढिमाईको महिमा र शक्तिभावले आफूलाई यो उमेरमा पनि तानेर ल्याएको उनले सुनाइन् । यो उमेरमा पनि मेलाको अवसरमा दर्शन पाउँदा आफू खुसी भएको उनले बताइन् ।

मंसिर १ देखी सुरु भएको मेलामा आउने दर्शनार्थी बिस्तारै बढ्न थालेका छन् । मेला भर्न आएका अहिलेसम्मकै दर्शनार्थीमध्येकै सबभन्दा बढी उमेरकी दर्शनार्थी ढुंगाना रहेकी गढिमाई मेला मिडिया व्यवस्थापन समितिका संयोजक मुकेश यादवले बताए । ‘मेलामा दर्शनार्थीको चहलपहल बढ्न थालेको छ,’ उनले भने, ‘भीडभाड बिस्तारै बढ्दै छ ।’ मेला व्यवस्थापन गर्न महागढिमाई नगरपालिका र मेला मूल व्यवस्थापन समिति सक्रिय रहेको उनले जानकारी दिए ।

प्रत्येक ५ वर्षमा एकपटक लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल र भारतबाट श्रद्धालु आउने गरेको महागढिमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले जानकारी दिए । ‘यसपालिको मेलालाई व्यवस्थित गर्न ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ उपसमिति गठन गरिएका छन्,’ उनले भने, ‘मेलालाई शान्ति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न हामी अहोरात्र खटेका छौं ।’ मेलाको सुरक्षा, सडक व्यवस्थापन, मनोरञ्जनका लागि खेल तमासा, श्रद्धालु भक्तजनको रात्रिवासका लागि धर्मशालालगायतको व्यवस्थापन गरिएको गढिमाई पञ्चवर्षीय मेला मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले बताए । एक महिनासम्म लाग्ने मेलामा मंसिर १७ मा राँगा बलि र १८ मा बोका बलि दिने कार्यक्रम रहेको गढिमाई मन्दिरका पुजारी मंगल चौधरीले जानकारी दिए ।

मेला क्षेत्रमा ५ सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको महागढिमाई नगरपालिकाले जनाएको छ ।

मुख्य भीड हुने समयलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र मेलालाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि सीसीटीभी क्यामरासमेत जडान गरिने योजना रहेको प्रजिअ पोखरेलले बताए ।मेला अवधिभर उक्त क्षेत्रमा मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णयसमेत गरिएको उनले बताए । ‘मदिराजन्य पदार्थ सेवन गरेपछि मेलामा आएका श्रद्धालुलाई असर पुर्‍याउन सक्ने भएकाले मदिराजन्य पदार्थलाई बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘यसले सुरक्षा व्यवस्थालाई पनि प्रभावित पार्ने अवस्थालाई मध्यनजर गरेका छौं ।’ स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्नेलाई कानुनी दायरामा ल्याउने उनले बताए ।

Our Official Facebook Page: GadhimaiNepal